परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए राष्ट्र बदलिन्छ। आज हामी समृद्धिका भोका छौं, त्यसैले जगबाटै समृद्धिको आधार खोजिनु आवश्यक छ। हामी गरिब भयौं, हामी पछाडि पर्‍यौं, हामी अघि बढ्न सक्दैनौं, यो देशको कहिल्लै विकास हुँदैन जस्ता नकारात्मक कुरा गर्ने र नागरिकको हैसियतमा आफू सामान्य नैतिकवान् पनि हुन नसक्ने जस्ता कुरालाई अब सधैंका लागि बाईबाई गर्नुपर्छ। एउटा असल मानिस बन्न कर्तव्यनिष्ठ, दायित्वबोध, इमान्दार र नैतिकवान हुनुपर्छ, यसका लागि आफूमा रहेका कमी-कमजोरी बुझेर त्यसलाई सच्याउनु आवश्यक छ। 

पाँच वर्ष भयो, साप्ताहिकले परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ नयाँ वर्षको संकल्प प्रकाशन गर्न थालेको। मुलुक आफ्नै ढंगले चलिरहे पनि राष्ट्रको समृद्धिमा नागरिकको जिम्मेवारीले पनि उत्तिकै भूमिका खेल्छ। व्यक्तिले असल नागरिक भएर आफ्नो कर्म पूरा गर्दा पनि राष्ट्रलाई योगदान पुगिरहेको हुन्छ। हामी यो देश बन्दैन भन्दै आफैं केराको बोक्रा सडकमा फ्याँकिरहेका हुन्छौं। सडक किनारमा दिसा-पिसाब गर्छौं, फोहरका पोका फ्याँक्छौं। त्यही नेपाली चिल्ला विदेशी सडकमा फोहर गर्न हिचकिचाउने तर आफ्नो देशमा मनलाग्दो व्यवहार गर्ने।  यस्तो व्यवहार अब पनि नसच्चिए कहिले सच्चिने ?